Header Ads

लघुकथा :- हुन नसकेकी बुहारी

लघुकथा :- हुन नसकेकी बुहारी
*******************
एउटा ठूलो संयुक्त परिवार थियो। एउटा छोराको बिहे गर्ने कुरा चलेको धेरै भयो। करिब दश वर्ष अघि नै एउटी अमेरिकी कन्या सॅंग उसको इन्गेजमेन्ट पनि भएको थियो।

तिनै कन्यालाई विना शर्त भित्र्याउने कि केही शर्तहरू परिमार्जन गरेर मात्र भित्र्याउने भन्ने बारे परिवारमा ठूलो बहस चल्यो। बुहारी स्वीकार्नको लागि ‘पारिवारिक संसद’ ले अनिवार्य पास गर्नुपर्थ्यो। माइति पक्ष शर्तहरु परिमार्जन गर्न तयार भएनन्।

पहिलो पक्षको तर्क थियो, “यथास्थितिमा बुहारी भित्र्याउनु पर्छ। बुहारी सँगै पचास अर्ब रुपैया दाइजो स्वरुप घर भित्रिन्छ। त्यो रकमले हाम्रो घरको मुहार फेरिने छ। घरको कुना काप्चा झिलिमिली हुनेछन्। घर परिवारलाई कुनै घाटा हुने छैन्।”

दोस्रो पक्षको तर्क थियो, “केही शर्तहरू परिमार्जन नगरी भित्र्याउनु हुन्न। नत्र भने उसले हाम्रो धर्म संस्कृति र रितिरिवाज मान्ने छैनिन्। नमस्ते गर्नुको साटो ससुरा र जेठाजुहरूलाई नि अंगालो हाल्ने छिन्। हाम्रो भाषा बोल्ने छैनिन्। माइति धर्मको प्रचार प्रसार गर्ने छिन्। आफ्नो सुरक्षा गर्न भन्दै माइतिबाट सुरक्षाकर्मी मगाउने छिन्। हाम्रो घरको नीति नियमहरू मान्ने छैनिन्।”

पहिलो पक्षले टेबल ठोक्दै त्यसको प्रतिवाद गर्न थाल्यो, “बुझ्दै नबुझी विरोध गर्ने? विरोध गर्नेहरु सबै अनपढ र गवाँर हुन्।”

दोस्रो पक्ष पनि पाखुरा सुर्कदै कुर्लिए, “बरू परिवार टुक्रिन सक्छ। हाम्रो घरको नीति नियम नमान्ने बुहारी कहिल्यै स्वीकार्न सकिन्न्।

जति तर्क वितर्क चले पनि परिवारमा सहमति जुट्न सकेन् । इन्गेजमेन्ट भैसकेकी एमसिसी नामकी अमेरिकी बुहारी भित्रिन सकिनन्। छोरो जिल्लियो। 

रचना तिलक तारामी “रेशाली”

बुटवल-११, रुपन्देही
६ असार, २०७७ 

No comments

Recent in Sports

Powered by Blogger.